चिनियाँ मोबाइल कम्पनी हुवावेले गुगलको प्राविधिक सहायता नपाउने भएको छ । गुगलले अब एन्ड्रोइड अपरेटिङ सिस्टमको अपडेट हुवावेलाई नदिने भएको हो । अब हुवावेका नयाँ भर्सनका स्मार्टफोनमा प्लेस्टोर, जीमेललगायतका गुगल एप चल्नेछैनन् । पूरानो भर्सनमा भने गुगलका सफ्टवेयर अपडेट हुनेछन् ।
ट्रम्प प्रशासनले बुधबार हुवावेलाई कालोसूचीमा राख्ने निर्णय गर्दै अनुमति विना उसलाई कुनै प्रविधि बेच्न अमेरिकी कम्पनीहरूमाथि रोक लगाएको थियो। गुगलका एक प्रवक्ताले अमेरिकी सरकारको पछिल्लो निर्णय स्वीकार गर्ने क्रममा गुगल रहेको जनाएका छन् ।
कस्ता–कस्ता सेवाबाट हुवावेलाई वञ्चित गराइने भन्नेबारे गुगल अझै छलफलमा रहेको बताइएको छ । अमेरिकाको यो निर्णयले उपभोक्ता व्यापारमा ठूलै असर पर्ने बताइएको छ ।
विश्वभर कैयौँ सरकारहरूले सुरक्षा चिन्ता दर्साउँदै फाइभजी मोबाइल सञ्जाल विकासमा हुवावेका उपकरण प्रयोग गर्न रोक लगाएका छन्।
हुवावेले आफ्नै एप ग्यालरी तथा अन्य सफ्टवेअर विकास गरिरहेको छ। उसका स्मार्टफोन आफ्नै स्वामित्व भएका प्रोसेसरबाट सञ्चालित हुँदैछन् तथा गत वर्ष सो कम्पनीका एक वरिष्ठ अधिकारीले छुट्टै अपरेटिङ सिस्टम बनाएको बताएका थिए।
तर यो निर्णयले सामसुङलाई जितेर सन् २०२० मा नम्बर एक मोबाइल कम्पनी बन्ने हुवावेको लक्ष्यमा भने धक्का पुग्नेछ।