मेसेजिङ एप ह्वाट्स एपमा भएको एक सुरक्षा कमजोरीका कारण ह्याकरहरु मानिसको मोबाइल फोनमा जासुसी सफ्टवेयर इन्स्टल गर्न सफल भएको फेसबुकले स्वीकार गरेको छ ।
बेलायतको अखबार फाइनान्सियल टाइम्सका अनुसार उक्त सफ्टवेयर एउटा इजरायली कम्पनीले विकसित गरेको हो । यो ह्वाट्स एप कलमार्फत् मानिसहरुको फोनमा इन्स्टल भएको बताइएको छ । समाचारका अनुसार प्रयोगकर्ताले फोन नउठाएपछि यो सफ्टवेयर उसको मोबाइलमा इन्स्टल हुन्छ । तर कल भने मोबाइलको रेकर्डमा देखिँदैन । यसमार्फत् मानवअधिकार कार्यकर्ता र अधिवक्ताहरुलाई निशाना बनाइएको छ । यस्तो खालको साइबर आक्रमण भएको गत महिना पत्ता लागेको थियो ।
फेसबुकले सुरक्षा कमजोरीलाई समाधान गर्न प्रयासरत रहेको उल्लेख गर्दै ह्वाट्स एपको नयाँ भर्सन अपडेट गर्न आग्रह गरेको छ । यो साइबर आक्रमणका कारण कति मानिस प्रभावित भए भन्नेबारे स्पष्ट भएको छैन । विश्वभर १ अर्बभन्दा बढी मानिसले ह्वाट्सएप चलाउँछन् ।
उक्त सफ्टवेयर इजरायलको एनएसओ समूहले बनाएको हो । यो समूह ‘साइबर हतियारको डिलर’ का रुपमा परिचित छ, जसले निशाना बनाइएको मोबाइलबाट डाटा लिन त्यस्ता सफ्टवेयरबाट आक्रमण गराउने गर्छ । एनएसओले अपराध र आतंकवादसंग लड्नका लागि आफ्नो संस्था सरकारबाट लाइसेन्सप्राप्त भएको जनाएको छ