नेपालको पहिलो भूउपग्रह ‘नेपाल स्याट १’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आईएसएस) मा पुगेको छ ।
नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको आजको नयाँ पत्रिकामा समाचार छ । नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो ।
नेपाली विज्ञान ताथ प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को सहकार्यमा निर्मित भूउपग्रह बिहीबार राति २:३१ मा अन्तरिक्षतर्फ पठाइएको थियो । अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल ए टिकेले भर्जिनियास्थित ‘मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट भूउपग्रह भएको यान प्रक्षेपण गरेको थियो ।
अब अन्तरिक्ष कक्षमा भूउपग्रहका पाटपुर्जाले काम गरे-नगरेको अन्तरिक्षयात्रीले परीक्षण गर्नेछन् । सफल परीक्षण भए करिब डेढ महिनाभित्र पृथ्वीको कक्षमा छाड्ने योजना रहेको नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलले बताए ।