सामाजिक सञ्जालमा स्थापित हुने गुगलको चौथो प्रयास पनि असफल भएको छ । फेसबुक, ट्वीटरलाई टक्कर दिन सन् २०११ मा सुरु गरिएको गुगल प्लसलाई गुगलले आज औपचारिक रुपमा बन्द गरेको हो ।
विश्लेषकहरुले २०११ को अन्त्यसम्ममा गुगल प्लसलाई श्रद्धान्जली लेखिसकेका थिए । तर गुगलले डाटा चोरी भएको पत्ता लागिसकेपछि मात्रै २०१८ मा बन्द गर्ने घोषणा गरेको थियो ।
गुगल प्लसलाई २०११ को जुनमा आमन्त्रण गरेरमात्र सदस्य बन्न सकिने गरी खोलिएको थियो । अर्कोवर्ष सबैका लागि खुला गरियो । यसमा सामाजिक सन्जालका सबैखाले विशेषता थिए, जसअनुसार फोटो तथा स्टाटस पोष्ट गर्न सकिने थिए । यसको प्रमुख विशेषता विशेषखालका साथीहरु छनौट गरेर सर्कल बनाउन सकिने र ग्रुप भिडियो कल ह्यांगआउट गर्न सकिन्थ्यो । यो लन्च भएको पहिलो सातामै लाखौ मानिस सदस्य बनेको गुगलले दाबी गरेको थियो । तर यसको समस्या भनेकै निकै थोरै मानिसले मात्र यसलाई चलाउँथे ।
किन असफल भयो ?
सामाजिक सन्जालका कन्सल्टेन्ट म्याट नाभाराका अनुसार यसको असफलता पहिलो दिनमै सुरु भएको थियो । वास्तविक नाम प्रयोग गर्नुपर्ने नीति नै यसको असफलताको मुख्य कारण मानिन्छ । गुगलले छद्म नाम या स्क्रीन नाममा प्रतिबन्ध लगायो, यसो गर्नेको जीमेल अकाउन्ट पनि बन्द गरिदियो ।
ब्रान्ड र बिजनेस प्रोफाइलका पेज पनि डिलिट गरिदियो । पछि आफूले गल्ती गरेको भन्दै बिजनेसले पनि गुगल प्लसमा प्रोफाइल बनाउन सक्ने बनायो । गुगल प्लसलाई भिडिओका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले यसलाई रुचाएनन्। अप्रिल २०१४ मा गुगल प्लसका संस्थापक भिक गुन्ठोत्राले गुगल छोडे। त्यसपछि गुगल प्लसका सफल सुविधाहरू ह्याङ्गआउट र फोटोज छुट्टै प्रयोग गर्न मिल्नेगरी बनाइयो।
प्लेस्टोर र युट्युबबाट पनि यसलाई बिस्तारै छुट्टाइयो र त्यसपछि सन् २०१८ मा ठूलो मात्रामा यसका तथ्याङ्क चोरिएको पुष्टि भएपछि यसको अन्त्य हुने निश्चित भयो।