सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानका सडक सद्दे छैनन् । भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तार कार्य सम्पन्न नहनु, सवारीसाधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याँक्ने पुराना यातायातका साधन विस्थापन नहुनाले उपत्यकावासी वर्षौदेखि धुलो र धुवाँबाट आजित छन् ।
धुलोका कारण बच्चादेखि वृद्धवृद्धासमेत प्रभावित भएको चिकित्सकहरूको भनाइ छ । ‘अहिले वृद्धवृद्धा र तन्नेरी मात्र होइन, बच्चामा पनि दमको समस्या अत्यधिक पाइएको छ,’ छातीरोग विशेषज्ञ डा. दीर्घसिंह बमले भने, ‘धुलोले जनताको स्वास्थ्यमा यति गम्भीर असर गरेको छ कि यसलाई कसैले गम्भीरतापूर्वक लिएकै छैनन् ।’
केही वर्षअघिको तुलनामा अस्पताल आउने श्वासप्रश्वासको समस्या भएका बिरामीको संख्या अत्यधिक बढेको डा. बमले बताए । ‘जुनसुकै अस्पतालमा जानुहोस्, श्वास–प्रश्वासका रोगीको संख्या अत्यधिक पाउनुहुनेछ,’ पूर्व स्वास्थ्य सचिवसमेत रहेका बमले भने । त्यस्तै, धुलो धुँवाबाट उपत्यकावासी मात्र होइन, केही दिनको कामका लागि राजधानी आउने मानिससमेत प्रभावित रहेको उनले सुनाए । नयाँ पत्रिकादैनिकमा खबर छ।