बेलायत र गाम्बियाका वैज्ञानिकहरुले कुकुरको मद्दतले मलेरिया पत्ता लगाउन सक्ने विधिबारे अनुसन्धान गरिरहेका छन्। वैज्ञानिकका अनुसार संक्रमित व्यक्तिका कपडा सुँघेर मलेरिया पत्ता लगाउन कुकुरहरुलाई तालिम दिइरहेको छ।
बेलायतको डर्हम विश्वविद्यालयले कुकुरलाई मलेरिया पत्ता लगाउने तालिम दिएको हो। यसबाट मलेरियाजस्ता रोग रोकथाम गर्न जनावरको सहयोग लिन सकिने अपेक्षा गरिएको छ। यद्यपि यो अनुसन्धान अझै शुरुवाती चरणमै छ। तर, यो रोगी पत्ता लगाउन एक नयाँ हुने हुने विश्वास लिइएको छ।
अध्ययनका अनुसार मलेरियापीडित व्यक्तिको शरीरको गन्ध केही अलग हुन्छ। यस्तो अवस्थामा कुकुरको मद्दतले शरीरमा रहेको मलेरिया पहिचान गर्न सकिनेछ ।पश्चिमी अफ्रिकी देश गाम्बियाको एउटा क्षेत्रका बालबालिकालाई एकरात मोजा लगाउन दिइयो। ती मोजालाई परीक्षणका लागि बेलायत पठाइयो। परीक्षणबाट मोजाका १७५ जोडीमध्ये ३० मा परजीवीको संक्रमण पाइएको थियो। ती मोजालाई बेलायतको मिल्टन किन्ज शहरस्थित मेडिकल डिटेक्सन ड्रग्स च्यारिटी पठाइएको थियो।
कुकुरमा सुँघ्ने क्षमता शक्तिशाली हुन्छ। ती कुकुरलाई यसअघि क्यान्सर र पार्किसन्सजस्ता रोगको सुरुवाती लक्षण पहिचान गर्न प्रशिक्षण दिइसकिएको छ। अमेरिकन सोसाइटी अफ ट्रपिकल मेडिसिन एण्ड हाइजिनको सम्मेलनमा प्रस्तुत गरिएको परिणामका अनुसार यी कुकुरले मलेरिया पहिचान गर्नसक्छन्। ती कुकुरले १० मध्ये ७ संक्रमितको नमूनामा मलेरियाको सही पहिचान गर्न सके।
अनुसन्धानको नेतृत्व गर्ने डर्हम विश्वविद्यालयका प्राध्यापक स्टीभ लिन्ड्सेले नियमित रुपमा प्रयोग गर्न कुकुरहरु अहिल्यै तयार भइनसकेको बताए।