बर्खाको मौसम । अहिले देशभर विभिन्न रोगको संक्रमण देखिएको छ । सर्पदंश, झाडापखाला, ज्वरोसँगै डेंगुका रोगी पनि बढ्दै गएको पाइएको हो ।
विशेषगरी लामखुट्टेबाट सर्ने डेंगु हाम्रै हेलचेक्रयाइँले सर्ने गर्छ । मानव स्वास्थ्यमा निकै जोखिम मानिने डेंगुको संक्रमणबाट जोगिन केही सावधानी त पक्कै पनि अपनाउनुपर्ने आवश्यक देखिन्छ ।
अझ तराई क्षेत्रमा विशेष रुपमा देखिने डेंगु अहिले पहाडी क्षेत्रमा समेत देखिन थालेको छ । पहाडी क्षेत्रमा पनि डेंगुका बिरामी पाइनुले सरसफाइमा ध्यान नदिनु प्रमुख कारण रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
उसो त यो वर्ष गत वैशाखमा सुनसरीको धरानमा पहिलोपटक डेंगुको संक्रमण भएको पत्ता लागेको थियो । अहिले भने देशभर फैलिएको अवस्था छ । अझ राजधानी उपत्यका पनि डेंगुको उत्तिकै जोखिममा रहेको छ ।
चिकित्सकहरुका अनुसार ज्वरो आएर अस्पताल जाने आधाजति बिरामीमा डेंगु संक्रमण देखिएको छ । पछिल्लो समय मुलुकका झन्डै ४२ जिल्लामा डेंगु संक्रमण फैलिइसकेको स्वास्थ्य मन्त्रालयको आंकडा छ ।
उदेकलाग्दो त राजधानी उपत्यकामा सर्वसाधारणसँगै चिकित्सक र नर्सहरुमा समेत डेंगु संक्रमण देखिएको छ । काठमाडौंको टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ डाक्टर, ३ नर्स, ३ कार्यालय सहयोगी र पारामेडिक्ससहित ११ जनालाई डेंगु संक्रमण पनि देखिएको अवस्था छ । अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौंमा डेंगु उच्च जोखिमका रूपमा देखिएको बताए । उनले भने, 'अब उच्च सतर्कता अपनाउनुपर्ने अवस्था आएको छ ।'
ज्यानमारा रोग नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकका डेंगु जोखिम मानिएका क्षेत्रमा औषधिसमेत छरिरहेको छ । डेंगुको जोखिम बढेसँगै नियन्त्रणका लागि पनि सरोकारवाला निकाय त क्रियाशील बनेका छन् । तर, हाम्रो घरवरपर सरसफाइमा पर्याप्त ध्यान दिन नसकेको चिकित्सकहरु बताउँछन् । यस्तै मन्त्रालयले नै सरोकार सबै पक्ष मिलेर डेंगुविरुद्ध अभियान चलाउन आह्वान नगरेको पनि कहाँ हो र ? तर, जोखिम घट्नुको साटो दिनानुदिन बढिरहेको अवस्था छ ।
उता पर्यटकीय सहर पोखराको अवस्था पनि जोखिम पूर्ण छ । झन्डै हरेक दिन डेंगुका नयाँ बिरामी उपचारका लागि अस्पताल पुग्न थालेका छन् । बिरामीको भीड बढेर यहाँका अस्पतालमा बेड अभाव भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कास्कीका अनुसार झन्डै साढे ५ सयमा जनामा डेंगुको संक्रमण देखिएको छ । कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालका अनुसार संक्रमितमध्ये ८ ट्राफिक प्रहरी र ५ स्वास्थ्यकर्मी पनि छन् ।
पोखरा महानगरपालिकाको ३३ मध्ये २७ वटा वडामा डेंगु संक्रमण देखिएको छ । खुला स्थान र पानी जम्ने ठाउँ पर्याप्त भएको र मान्छेको आउजाउ बढी हुने क्षेत्र भएकाले पनि डेंगु संक्रमण बढिरहेको चिकित्सकहरुको भनाइ छ । यस्तै कबाडी संकलन केन्द्र तथा सर्वसाधारणका घरमा रहेका पुराना भाँडामा जम्मा भएको पानीबाट डेंगु संक्रमण देखिएको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गण्डकी प्रदेश पनि डेंगुको उच्च जोखिममा रहेको छ । तनहुँका व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा पनि डेंगुका बिरामी देखिएका छन् । यस्तै गण्डकी प्रदेशका झन्डै हजार बढीमा डेंगुको संक्रमण देखिएको छ । सबैभन्दा बढी कास्की, पर्वत, बागलुङ, तनहुँ, लमजुङ, स्याङ्जामा तथा गोरखामा डेंगु संक्रमित भेटिएका छन् ।
यता काठमाडौं, भक्तपुर, ललितपुरमा पनि डेंगु संक्रमित बढेका छन् । अहिलेसम्म भक्तपुरमा १२ जनामा डेंगुको संक्रमण देखिएकाले जिल्लालाई उच्च जोखिम मान्न सकिने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यसवर्ष चार दोब्बर डेंगुको बिरामी भेटिएको बताए । उनका अनुसार गत वर्ष ३ जनामा मात्रै डेंगु देखिएको र यस वर्ष संक्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यममार्फत जनचेतना फैलाउने अभियान आरम्भ गरिएको छ ।
यी हुन् लक्षण
संक्रमितमध्ये सबैमा डेंगुको लक्षण दैखिँदैन । कतिपयमा सामान्य ज्वरो आँउछ । करिब ३ प्रतिशतमा बान्ता आउने, पेट दुख्ने, शरीरमा पानी जम्ने, रक्तश्राव हुने र मिर्गौलामा असर देखिनेजस्ता समस्या देखिन्छन् ।
भाइरस शरीरमा प्रवेश गरिसकेपछि कडा ज्वरो आउँछ । जोर्नी र मांसपेशी दुख्ने । आँखाको गेडी र ढाडमा पीडा हुने, रगतमा सेता रक्तकोषको कमी हुनेजस्ता समस्या देखिन्छन् ।
एकपटक डेंगुबाट प्रभावित व्यक्तिमा पुनः संक्रमण हुने सम्भावना अधिक रहन्छ । डेंगु भएको समयमा जन्मिएका बच्चामा तथा प्रतिरोधी क्षमता उच्च भएका मानिसमा डेंगुले जटिल समस्या निम्त्याउने खतरा हुन्छ । जटिल खालको डेंगु भए मानिसको ज्यान पनि जान सक्छ ।
डेंगु संक्रमणबाट जोगिन के गर्ने ?
डेंगु संक्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झाडी नराख्न, फोहोर नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ । यस्तै ज्वरो, बान्ता आए नजिकको उपचार केन्द्रमा गई जचाउँनुपर्छ । यसलाई हेलचेक्रयाइँ गरे अंगभंग हुनुका साथै ज्यानैसमेत जाने जोखिम उत्तिकै हुन्छ ।
एडिज नामक लामखुट्टेको लार्भा विकासका लागि अक्सिजनयुक्त पानी आवश्यक हुन्छ । गमला, जथाभावी फालिएका बट्टा, पानी जमेका खाल्डाखुल्डी र टायर आदिमा जमेको पानीमा यसले अन्डा पार्ने सम्भावना ज्यादै रहन्छ । तसर्थ, यस्ता ठाउँ सधैँ सफा राख्नुपर्छ । पानी राख्ने भाँडा छोपेर राख्नुपर्छ ।
घरबाहिर निस्कँदा लामो बाहुला भएका कपडा लगाउनुपर्छ । त्यस्तै, लामखुट्टेको टोकाइबाट बच्न क्रिम र स्प्रे छर्किन सकिन्छ । सुत्दा झुलको अनिवार्य प्रयोग गर्नुपर्छ।