पर्यटकीय सहर पोखरामा डेंगी नियन्त्रणबाहिर पुगेको छ। हरेक दिन डेंगीका नयाँ बिरामी उपचारका लागि अस्पताल आउन थालेका छन्। बिरामीको भीड बढेर यहाँका अस्पतालहरू ठाउँ पाइन मुस्किल हुन थालेका छन्। जिल्ला स्वास्थ्य कार्यालय कास्कीका अनुसार सोमबारसम्म ४ सय ३९ जनामा डेंगी संक्रमण देखिएको छ।
सो कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक याम बरालले संक्रमितमध्ये आठजना ट्राफिक प्रहरी र पाँचजना स्वास्थ्यकर्मी (दुईजना चिकित्सक र तीनजना नर्स) बिरामी परेको बताए। संक्रमित एकजना ट्राफिकलाई थप उपचारका लागि काठमाडौंस्थित प्रहरी अस्पतालमा पठाइएको छ। ‘हामी नियन्त्रणको प्रयासमा त छौं तर रोग अचाक्ली रूपमा फैलिएको छ,’ उनले भने, ‘अब हामीले मात्रै नियन्त्रण गर्न सक्ने अवस्था देखिँदैन। ’
पोखरा महानगरपालिकाका ३३ मध्ये २७ वटा वडामा डेंगी संक्रमण देखिएको बरालले बताए। सबैभन्दा बढी संक्रमण पोखरा महानगरपालिका–८ र ९ का बासिन्दामा देखिएको छ। ती दुईवटा वडामा मात्रै झन्डै ६० प्रतिशत बिरामी रहेको उनले बताए। ‘बिरामी परेपछि मान्छेले स्वास्थ्य परीक्षण गराउन चासो दिएका छन् तर डेंगी नियन्त्रणमा खासै सहयोग गरेका छैनन्,’ बरालले भने, ‘हरेक दिन अस्पतालमा उपचारका लागि बिरामी आउने क्रम बढेको छ। हामीले नियन्त्रणको प्रयास गरिरहेका छौं तर बिरामीको संख्या बढिरहेकाले नियन्त्रणबाहिर गएको भन्न सकिन्छ। ’
पोखरा–८ सँगै जोडिएको वडा ९ मा बसपार्क (पृथ्वीचोक क्षेत्र) पर्छ। खुला बसपार्क र पानी जम्ने ठाउँ पर्याप्त भएको र मान्छेको आउजाउ बढी हुने क्षेत्र भएकाले पनि त्यहाँ संक्रमण बढिरहेको उनले बताए। ‘डेंगी नियन्त्रणका लागि समुदाय नै सचेत नहुँदा नियन्त्रणबाहिर पुगेको हो,’ उनले भने, ‘बिरामी भएपछि डेंगी लागेको हो कि भनेर परीक्षण गराउन आएका छन्। तर समुदायस्तरमा नियन्त्रणको प्रयास निकै नै सुस्त गतिमा भएको छ। ’ उनका अनुसार शुक्रबार मात्र एकैदिन पोखरामा ४० जनामा यो संक्रमण देखिएको थियो। ‘हरेक दिन संख्यात्मक रूपमा बिरामी बढिरहेका छन्। यस्तै अवस्था रहने र नियन्त्रणमा समुदायको सहयोग नहुने हो भने विकराल अवस्था आउन सक्छ,’ उनले भने। नागरिक दैनिकमा खबर छ।