कास्कीको पोखरामा दुई साता अघि देखिएको डेंगुको सङ्क्रमण बढ्दै गएको छ।
हालसम्म १२१ डेंगुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन्। जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग निरीक्षक याम बरालका अनुसार पोखरा महानगरपालिका–८ स्थित कवाडी सङ्कलन केन्द्र तथा स्थानीयवासीको घरमा रहेका पुराना भाँडामा जम्मा भएको पानीबाट डेंगुको सङ्क्रमण देखिएको हो।
स्थानीयवासीले रोगबारे थाहा पाए पनि त्यसबाट बच्न सतर्कता नअपनाउँदा जोखिम बढ्दै गएको बरालले बताउनुभयो। स्थानीयवासीले भने महानगरपालिकाको बेवास्ताका कारण डेंगुको सङ्क्रमण बढेको बताए।
“महानगरले डेंगु फैलनु अघि रोकथामको पहल गर्न सकेन”, आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलले भन्नुभयो। महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा विभिन्न वडामा लामखुट्टेको बासस्थानको खोजी गरी त्यसलाई नष्ट गर्न थालिएको बताउनुभयो। स्थानीयवासी सतर्क नहुँदा समस्या बढेको उनकाे भनाइ छ।
डेंगु सामान्यतया लामखुट्टेको टोकाइबाट मानिसमा सछ। एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले डेंगु सार्ने गरेको शर्माले बताए। पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्दछ।