झापाका ३६ वर्षे वेदप्रसाद शर्मा पेसाले कविराज हुन्। आयुर्वेदिक औषधिबारे आफैं जानकार छन्।
करिब ४ वर्षअघि ढाड दुख्न थालेपछि उनले अर्का आयुर्वेदिक डा. सिद्धार्थ ठाकुरको सल्लाह लिए। अनि उनैको सल्लाहअनुसार शर्माले डाबर इन्डियाबाट उत्पादित आयुर्वेदिक औषधिहरू महायोगराज गुग्गुल, प्रवाल भष्म, महावाधिध्वंसन रस, वातगजांकुशरस, प्रवाल भष्म, बृहतवातचिन्तामणि रसलगायत औषधि सेवन गर्न थाले। कतिपय चिकित्सकले उनलाई शल्यक्रिया गर्नुपर्ने सल्लाह पनि दिएका थिए।
तर डा. ठाकुरकै सल्लाहमा शर्माले डाबर इन्डिया लिमिटेडबाट उत्पादित ती औषधि सेवन गरे। औषधि सेवन गरेको केही दिनमा उनलाई हल्का सञ्चो भयो। निको भए जस्तो लागेपछि काममा फर्किए। दुई सातापछि ढाड दुख्ने समस्या फेरि बल्झियो।
करिब ६/७ महिनासम्म निको हुँदा औषधि छाड्ने र बल्झिँदा खाने गर्न थालें,’ उनले भने, ‘त्यति गर्दा पनि समस्या समाधान नभएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा शल्यक्रिया गराएँ। केही दिनपछि छाला कालो हुने, उप्किनेलगायत समस्या देखिए। न्युरो अस्पतालमा फलोअपमा जाँदा ढाडको समस्या निको भइसकेको थियो। तर छालाको समस्याले पिरोल्न थाल्यो।’
विभिन्न ठाउँमा परीक्षण गराउँदासमेत कारण पत्ता लागेन। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखाउँदा आर्सेनिकका कारण यस्तो समस्या भएको आशंका गरियो। योसँगै अन्य विभिन्न स्वास्थ्य समस्या पनि देखिन थाले। स्वास्थ्य स्थिति थप जटिल बन्दै गएपछि उनी भारतको भेलौरस्थित क्रिस्चियन मेडिकल कलेज (सीएमसी) गए। त्यहाँ जँचाउँदा शरीरमा अधिकतम ०.५ मिलिग्राम आर्सेनिक मात्रा हुनुपर्नेमा १ सय ९९ मिलिग्राम देखियो। पिसाबमा यसको मात्रा १ हजार १ सय ४२ मिलिग्राम थियो। कान्तिपुर दैनिकमा खबर छ।