पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिला भेट्न लागि ‘अध्यक्ष कोसेली कार्यक्रम’ सुरु गरेको छ । स्वास्थ्य संस्थामा पुगेर सुरक्षित ढंगबाट सुत्केरी गराउने काम प्रोत्साहित गर्न घरघरमै पुगेर सुत्केरी भेट्न ‘अध्यक्ष कोसेली कार्यक्रम’ सुरु गरिएको हो ।
गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने सबै घरमा अध्यक्षले कोसेली बोकेर जाने गरी कार्यक्रम तय गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । महाशिला गाउँपालिकाका ६ वटै वडामा सुरक्षित सुत्केरी गराउन बर्थिङ सेन्टर स्थापना गरिएका छन् ।
'हरेक महिला स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउने काम भएका कारण जिरो होम डेलिभरीको अवस्था छ,' अध्यक्ष पौडेलले भने, 'घरमा सुत्केरी गराउने मानसिकता त्याग्न प्रोत्साहनको कार्यक्रम ल्याएका हौँ ।'
कार्यक्रमअन्तर्गत एक सुत्केरीलाई २ हजार रुपैयाँ बराबरका घिउ र कुखुरा दिने योजना रहेको गाउँपालिकाले जनाएको छ । केही वर्षअघि सम्म यहाँ घरमै सुत्केरी हुने र स्वास्थ्यकर्मीलाई समेत घरमै बोलाउने चलन थियो । गाउँपालिकामा जनप्रतिनिधि आउनुपूर्व लुङ्खु प्राथमिक स्वास्थ्य केन्द्र र होस्राङ्गदी स्वास्थ्य चौकीमा मात्रै बर्थिङ सेन्टर थिए । जनप्रतिनिधि आएपछि थप ४ वटा वडामा गाउँपालिकाले नै बर्थिङ सेन्टर स्थापना गरेको छ ।
महाशिला गाउँपालिकाले स्वास्थ्य संस्थामा जन्मेको बर्थ सर्टिफिकेट र नियमित रुपमा गर्भ जाँच गरेको सिफारिस नभएसम्म बालबालिकाको जन्मदर्तासमेत नगर्ने निर्णय गरेको छ । जन्मदर्ता गर्न स्वास्थ्य संस्थाको बर्थ सर्टिफिकेट र सिफारिस लिने व्यवस्था गर्दा घरमा सुत्केरी हुने चलन पूरै हटेर जाने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । -रासस