उपराष्ट्रपति नन्दबहादुर पुनले स्वस्थ शरीर र मानसिक सुख वा आत्मिक शान्तिका लागि योग अचुक माध्यम बनेको बताएका छन् । उनले योगले रोग लाग्नबाट बचाएर हामीलाई स्वस्थ रहन मद्त पुर्याउँने बताए ।
योगले आत्मिक शान्ति दिएर सुखी पनि बनाइरहेको उनको भनाइ छ । अहिले हरेक मानिस रोग लाग्नबाट कसरी बच्ने भनेर विभिन्न विकल्पको खोजीमा रहेको उनले बताए । उनले योग कहाँबाट उत्पत्ति भयो भन्ने र यसको परिभाषाबारे विज्ञहरुले भिन्नभिन्न कोणबाट तर्क गरेको उनले बताए । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा चितवनमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले भने, 'योगको परिभाषा जे भए पनि यो एउटा विज्ञानका रुपमा स्थापित भएको छ ।'
उपराष्ट्रपति पुनले आज संसारका १ सय ७५ राष्ट्रले स्वीकार गरेको योग नेपालबाटै फैलिएको बताए । नेपालबाटै फैलिएर अन्तर्राष्ट्रिय जगतले स्वीकार गरेको र संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभाले जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउने निर्णय गरेको भन्दै सबैलाई शुभकामनासमेत दिए ।