जिल्लामा बिहे गर्ने उमेरअगावै गर्भपतन गराउने किशोरीको सङ्ख्या बढ्दै गएको छ । नेपालको कानुनमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ ।
तर, बिहे गर्ने उमेरअघि गर्भपतन गराउने किशोरीको सङ्ख्या यहाँ बढ्दै गएको हो । गर्भपतन गराउनेमा विवाहित मात्रै नभएर अविवाहित पनि आउने गरेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुका शर्मा बताउँछिन् । महिनामा ४० देखि ६० जनासम्म गर्भपतनका लागि आउने गरेको उनको भनाइ छ । '१३ देखि २० वर्षभित्रका अविवाहित किशोरीसमेत गर्भपतन गराउन आउँछन्,' शर्माले भनिन् । श्रीमान् वैदेशिक रोजगारीमा भएका महिलाहरु बढी आउने उनले बताइन् ।
जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डा. अमृत पोख्रेलले जिल्लामा असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या बढ्दै बताए । १२ सातासम्मको गर्भपतन गराउन पाउने कानुनी मान्यता रहे पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउने क्रम बढेको बताउँदै बाहिर असुरक्षित ठाउँमा गर्भपतन गराउने अनि रक्त सरापको समस्या भएपछि अन्तिम अवस्थामा आफूहरु कहाँ आउने गर्दा रगत कमीलगायत अन्य विभिन्न प्रकारका समस्या हुने गरेको उनको भनाइ छ ।
परिवार नियोजनको अस्थायी साधनको प्रयोगकर्ताभन्दा गर्भपतन गराउन आउनेको सङ्ख्या बढी भएको बताउँदै उनले विद्यालय र क्याम्पसमा यससम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।
जिल्लामा गर्भपतन गराउने १९ संस्था सूचीकृत छन् । चालू आवमा ८ सय ८४ जनाले गर्भपतन गराएका छन् । जसमध्ये वालिङमा रहेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ३ सय २७ जनाले सेवा लिएको र जसमा ३६ जना २० वर्षभन्दा मुनिका छन् । २ सय ९१ जना २० वर्षभन्दा माथिका रहेको केन्द्रले जनाएको छ ।
ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराईले अधिकांश किशोरीहरुले क्लिनिकमा पाइने गर्भ नरहने औषधिसमेत प्रयोग गर्ने गरेको जानकारी दिए । -रासस