एक महिनायता मुलुकको पूर्वी क्षेत्रमा डेंगु रोगको प्रकोप बढ्दै गएको छ । सुनसरीको धरानमा डेढ सातादेखि फैलिएको डेंगु नियन्त्रणबाहिर छ । सुनसरीकै इनरुवा र इटहरी हुँदै मोरङको विराटनगर र झापाको दमकसम्म डेंगु फैलिएको पुष्टि भएको छ । स्थानीय र संघीय सरकारबीच समन्वय नहुँदा पूर्वी तराईका जिल्लामा डेंगुले महामारीको रूप लिएको हो । गत ३० वैशाखमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पहिलोपटक डेंगु रोग निदान भएको थियो । त्यसयता दैनिक ३० जनासम्म डेंगुका बिरामी फेला पर्ने गरेको प्रदेश सरकारले जनाएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार स्थानीय तह, प्रदेश र संघबीच समन्वय हुन नसक्दा धरान, इटहरी र विराटनगरमा डेंगुको प्रकोप फैलिएको हो । धरानबाट फैलिएको डेंगु झापा पुग्यो इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअनुसार डेंगुले प्रकोपको रूप लिएसँगै स्वास्थ्य संस्थाहरूले जथाभावी बिरामीको परीक्षण गरेका छन् । परीक्षणमा भएको मनपरी रोक्न महाशाखाले मापदण्ड बनाउँदै स्वास्थ्य संस्थालाई सर्कुलर जारी गरेको छ । ‘बिरामीसँग निजी स्वास्थ्य संस्थाले मनलाग्दी रकम असुल्ने गरेको र जथाभावी परीक्षण गरेको गुनासो आएपछि हामीले मापदण्ड तोकेका हौँ,’ महाशाखाका एक अधिकारीले भने ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मापदण्डभित्र रहेर मात्रै स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको छ । डेंगुका बिरामी दिनहुँ बढ्दो क्रममा भएकाले स्वास्थ्य संस्थाहरूले सामान्य ज्वरोका बिरामीलाई समेत डेंगु परीक्षण गरेको पाइएको छ । धरानमा फैलिएको डेंगु इटहरी, विराटनगर हुँदै झापासम्म पुगेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा निर्देशक भोगेन्द्र डोटेलका अनुसार शुक्रबारसम्म जम्मा पाँच सय ५० जना डेंगुका बिरामी पत्ता लागेका छन् ।
सरकारले यस वर्ष डेंगु परीक्षण गर्न पाँच हजार डेंगु टेस्ट किट खरिद गरेको थियो । तर, डेंगु देखिने सिजन सुरु नहँुदै एक हजार किट सकिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किट नियन्त्रण शाखाका प्रमुख घनश्याम पोखरेलले जानकारी दिए । महाशाखाका अनुसार यही अनुपातमा बिरामीको संख्या बढ्दै गए बर्खाअगाडि नै चार हजार किट सकिनेछ । ‘डेंगु परीक्षण गरेबापत स्वास्थ्य संस्थाहरूले दुई हजारदेखि १३ हजार रुपैयाँसम्म शुल्क लिएको सूचना महाशाखामा आएको छ,’ उनले भने । साढे पाँच सय डेंगुका रोगी भेटिए पनि अहिलेसम्म कसैको मृत्यु नभएको उनले बताए ।
स्वस्थ मानिसलाई डेंगु परीक्षण आवश्यक नपरे पनि विभिन्न स्वास्थ्य संस्थाले त्यस्ता व्यक्तिलाई पनि परीक्षण गर्ने गरेका छन् । गत वर्ष आठ सय ११ जना डेंगुका बिरामी फेला परेका थिए । ‘हामीले सोही आधारमा किट खरिद गर्छौँ । बिरामी बढ्न पनि सक्छन्, घट्न पनि सक्छन् भनेर १२ सय हाराहारीमा किट खरिद गर्छौँ । नपुग्दा खरिद गरेन अभाव भयो भनिन्छ । खरिद गर्दा बढी भएमा कमिसन खाएर गर्यो भन्छन्,’ उनले भने । नयाँ पत्रिकामा खबर छ।