फलको राजा आँपलाई मानिन्छ। अब आँपको सिजन आउन थालेको छ। तर, बजारमा छ्यापछ्याप्ती आँप आउन थालिसकेका छन्। व्यापार पनि बढेको छ। असार, साउनतिर पाक्ने आँप अहिले बजारमा पाइन थालेको छ। केही गत वर्ष शीतभण्डारमा भण्डारण राखिएका आँप हुन् भने केही यसै वर्ष फलेका काँचा आँप। यी आँप हेर्दा आकर्षक र स्वादिला भए पनि अखद्य वस्तु मिसावट गरी बजारमा आएको हामी कमैलाई थाहा छ।
यद्यपि अहिले तराईका आँप काँचै छन् अनि पहाडमा त चिचिला। हामी उपभोक्ता भने बजारबाट आँप किनेर खाइसकेका छौं। हामी पनि दंग छौं, सिजनअगावै आँप खान पाउँदा।
बाहिरी मुलुकबाट आयात गरिएका बेमौसमी आँपमा विभिन्न रासायन प्रयोग गरिएका छन्। जसले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको पनि छ। हामीले आँपसँगै शरीरलाई हानि गर्ने विषादी पनि खाइरहेका छौं, त्यो पनि स-शुल्क। यस्ता सिजनअगावै बजारमा आएका आँप नखान स्वास्थ्यकर्मीहरुले सुझाए पनि हामीले क्षणिक स्वादका लागि अटेर गरिरहेका छौं। आँपमा प्रयोग गरिएका विषादीले स्वास्थ्यमा दीर्घकालीन समस्या हुनसक्ने स्वास्थ्यकर्मीहरुको चेतावनी छ। तर आँप खाने, किन्ने र बिक्री हुने क्रम भने रोकिएको छैन।
आँपको गुणस्तरबारे सम्बन्धित निकाय पनि मौन छ। उपभोक्ताले रोग संरक्षण गरिरहेका छन्। क्षणभरको लापरबाहीले सर्वसाधारणको स्वास्थ्यमा परेको नकारात्मक असर बढ्न दिनुभन्दा पनि न्यूनीकरणतर्फ राज्य लाग्नुपर्ने बेला हो। विषादी मिसिएका आँपको आयात रोकिनुपर्छ। यस्तै सर्वसाधारणमा यस्ता विष मिसिएका आँप नखानलाई जनचेतना जगाउन आवश्यक पनि छ।
बजारमा अहिले डल्ले, सिंधुरे, चिउरी सबुजा, मालदह, दशहरी, बम्बै, कलकतिया, सरिह जातका आँप बिक्री भइरहेका छन्। व्यवसायीको व्यापार पनि मज्जैले चलिरहेको छ।
तर, सिजनको आँप त्यसमा पनि विषादी नमिसाइएको खाँदा भने शरीरलाई फाइदै गर्छ। विषादी नमिसाइएको आँप खाँदा मानव शरीरलाई हुने केही फाइदा भने यस्ता छन्।
१. आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुँदा शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ। साथै मुटुसम्बन्धी समस्याबाट मुक्ति मिल्छ।
२. आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखासम्बन्धी समस्याबाट छुटकारा दिलाउँछ।
३. आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्यास्ट्राइटिसको समस्या समाधान हुन्छ।
४. आँप खाँदा शरीरमा शक्ति प्रदान गर्नुका साथै रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ।
५. आँपमा प्रशस्त आइरन पाइन्छ जसले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ।
६. आँपमा भिटामिन बी ६ भरपुर हुन्छ । जसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ।
७. यसको सेवनले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्याउँछ।
अब निर्णय तपाईंकै- विषादी मिसाइएको आँप खाने कि सिजनमा आएको विषादीरहित?