डेंगु ज्वरोको प्रकोप नियन्त्रणबाहिर गएपछि स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग सहयोग मागेको छ। डेंगुको प्रकोप नियन्त्रण गर्न स्थानीय स्तरको प्रयास सम्भव नभएपछि धरान उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारलाई पत्राचार गर्दै सहयोग मागेको हो।
धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले डेंगुको प्रकोप नियन्त्रणबाहिर गएकाले प्रदेश र संघीय सरकारका मन्त्रालयसँग सहकार्य र सहयोगका लागि पत्राचार गरिएको बताइन्। ‘हामीले सकेसम्म डेंगु नियन्त्रण प्रयास गरिरहेकै छौं तर नियन्त्रणमा नआएकाले चिन्तित छौं,’ कार्यवाहक प्रमुख भण्डारीले भनिन्, ‘काबुबाहिर जान लागेकाले प्रदेश र संघीय सरकारबाट पनि सहयोग आवश्यक छ।’
धरानमा पछिल्लो ३ सातामा ७५ जना डेंगुका बिरामी भेटिएको पुष्टि भइसकेको छ। सबै बिरामी स्वास्थ्यसंस्थाको सम्पर्कमा नआएकाले यो संख्या अझै बढी हुनसक्ने चिकित्सक बताउँछन्। डेंगुको प्रकोप क्षेत्रमा नियमित फगिङको काम भइरहेको छ। चिकित्सकसहितको ¥यापिड रेस्पोन्स टिमसमेत गठन गरिएको छ। तर डेंगु नियन्त्रणमा आउन सकेको छैन। डेंगु संक्रमित पोथी लामखुट्टेबाट मानिसमा संक्रमण हुने भएकाले पूर्णरुपमा नियन्त्रणमा ल्याउन लामखुट्टेका अन्डा र लार्भा नष्ट गर्नुपर्ने विज्ञ चिकित्सक बताउँछन्। नागरिक दैनिकमा खबर छ।