शिक्षण अस्पताल महाराजगन्जमा पहिलोपटक कलेजो प्रत्यारोपण भएको छ । ३ वर्षको प्रयासपछि शुक्रबार प्रत्यारोपण गर्न चिकित्सकहरु सफल भएका छन् ।
प्रा.डा रमेशसिंह भण्डारी नेतृत्वमा काठमाडौंकै ५८ वर्षीय एक व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई ३३ वर्षकी छोरीले कलेजो दान गरेकी हुन् ।
डा. भण्डारीका अनुसार शुक्रबार बिहान ८ बजे सुरु भएको प्रत्यारोपण राति साढे १२ बजे सकिएको थियो ।
नेपाली चिकित्सकलाई साथ दिन भारतको एपोलो अस्पतालका प्रत्यारोपण विशेषज्ञ डा. नीरव गौरको टिम पनि आएको थियो । भारतमा १ करोड बढी रकम लाग्ने प्रत्यारोपण नेपालमा २५ लाखमा हुने चिकित्सकले बताएका छन् ।