प्रदेश ५ सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश ५ स्वास्थ्य निर्देशनालयले नेपालगन्जमा आयोजना गरेको औलो (मलेरिया) रोगसम्बन्धी अन्तर्क्रियामा १ सय ८५ औलो रोगी भेटिएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
तथ्याङ्कअनुसार बाँकेमा ५२, कपिलवस्तुमा ४९, बर्दियामा ३४, रुपन्देहीमा २४, दाङमा १०, अर्घाखाँची र नवलपरासी पूर्व ७–७ र पाल्पामा २ गरी १ सय ८५ औलो रोगी छन्।
सरकारले सन् २०२५ सम्म देशलाई औलो रोगबाट मुक्त गर्ने अभियान चलाएको छ । ‘आफैँबाट सुरु गरौँ, औलोलाई शून्यमा पुर्याऔँ’ भन्ने नाराका साथ औलो नियन्त्रणका लागि सरकारले चलाएको अभियानकै दौरानमा बाँकेमा औलो रोगीको उच्च जोखिममा रहेको तथ्य बाहिरिएको हो ।
निर्देशनालयका निर्देशक दिनेशकुमार चापागाईंद्वारा प्रस्तुत तथ्याङ्कमा बाँकेमा ५२ औलो रोगी छन् । औलो नियन्त्रणका लागि सरकारले चलाएको अभियानले औलो रोगीका सङ्ख्या घटे पनि बाँके प्रदेशकै उच्च जोखिममा रहेको हो । सार्वजनिक तथ्याङ्कका आधारमा बाँकेको राप्तीसोनारी गाउँपालिका ३ औलोको उच्च जोखिममा छ ।
औलो रोग लामखुट्टेबाट लाग्ने भएकाले घर वरिपरि सफा राखी वातावरण नै स्वच्छ बनाउनुपर्ने, खाल्डाखुल्डी पुर्ने, औषधि छर्कने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्नेजस्ता विषयमा नागरिक संवेदनशील हुनुपर्ने निर्देशक चापागाईंले बताए । -रासस