धरानस्थित बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेंगुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ ।
धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समय फेला परेका संक्रमित धरान ८ र १५ का छन् । डेंगु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘र्यापिड रेस्पोन्स टिम’ बनाएको छ। प्रतिष्ठानका स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एसोसिएट प्रोफेसर डा. विजयकुमार खनाल संयोजक, सहसंयोजक धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादव, प्रतिष्ठानका डा. प्रज्वल प्याकुरेल, डा. सोनाई चौधरी, डा. लोकबहादुर श्रेष्ठ, डा. जितेन्द्र ठाकुर, डा. रोशन क्षत्री, जितेन्द्र यादव, प्रतिष्ठानको सामान्य प्रशासन विभाग अधिकृत महेश्वर राई र स्वयंसेविकालगायतको टिमले धरानमा फैलिएको डेंगुबारे अध्ययन गरिरहेको छ ।
डेंगु ‘भाइरस’ फैलाउने लामखुट्टे भगाउन उपमहानगरले अल्फा साइफर मेथ्रिन छर्ने काम गरेको थियो । तर स्थलगत रूपमै डेंगुको सङ्क्रमित खोज्ने, भाइरस सर्नुको कारणसँगै नियन्त्रणको उपाय, जनचेतना फैलाउने तथा थप अनुसन्धान आवश्यक भएकाले अध्ययन आरम्भ गरिएको प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर साहले जनाए ।
धरान १५, बाझगरा क्षेत्रमा सबैभन्दा बढी ४१ मा र धरान १३, ९, ८ वडामा बढी बिरामी देखिएका छन् । बीपी प्रतिष्ठानको आवास क्षेत्रमा पनि दुई जनामा डेंगु सङ्क्रमण देखिएको र्यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राईले जानकारी दिए । -रासस