बालबालिकाको आँखा रातो भइरहन्छ र औषधि गर्दा पनि निको हुँदैन भने त्यसलाई सामान्य रुपमा लिन नहुने चिकित्सकहरूले बताएका छन् ।
बालबालिकाको आँखामा लाग्ने क्यान्सर जसलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ, त्यसको एउटा मुख्य लक्षण लामो समयसम्म आँखा रातो हुनु रहेको चिकित्सकहरूले बताएका छन् । त्यसबाहेक आँखाको नानीमा सेतो टिका वा बत्ति जस्तो देखिनु यो रोगको अर्को लक्षण रहेको भन्दै बीबीसीले लेखेको छ ।
चिकित्सकहरूका अनुसार आँखा बाङ्गो हुँदै जानु, आँखा रातो भइराख्नु र जति उपचार गरेपनि ठिक नहुने यसका शुरुवाती लक्षण हुन् ।
तत्काल उपचार
बालबालिकाको आँखामा यस्ता समस्या देखिनेबित्तिकै उपचार गर्न थाल्न पाए यो रोग निको पार्न सकिने आँखाको क्यान्सर रोग विशेषज्ञ पूर्णिमा राजकर्णिकार बताउँछिन् । "रोग लाग्ने बित्तिकै उपचार शुरु गर्न पाए हामीले विरामीको आँखाको ज्योति र ज्यान दुवै बचाउन सक्छौं । तर यस्तो रोग लागेका विरामी हामीकहाँ आइपुग्दा निकै ढिलो भइसकेको हुन्छ," तिलगङ्गा आँखा अस्पताल काठमाडौंमा कार्यरत डा. राज कर्णिकारले भनिन् ।
संसारभर यस्तो समस्या छ ।
त्यसैले मे महिनाको दोस्रो साता विश्वभर रेटिनोब्लास्टोमा बारे जनचेतना फैलाउने अभियान सञ्चालन हुँदै आएको छ । चिकित्सकहरुका अनुसार प्राय पाँच वर्ष मुनिका बालबालिकामा रेटिनोब्लास्टोमा हुने गर्छ ।
कसैलाई दुवै आँखामा
अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार विश्वमा १५ हजार बालबालकामध्ये एक जनामा यस किसिमको क्यान्सर देखिने गर्छ । नेपालमा वर्षमा ४०-५० बालबालिकामा रेटिनोब्लास्टोमा हुने अनुमान गरिएको डा. राजकर्णिकारले बताइन् ।
गत वर्ष मात्र रेटिनोब्लास्टोमा भएका करिब ३५ नयाँ बिरामी तिलगङ्गा आँखा अस्पतालमा उपचार गराउन आएको बताइएको छ । त्यसमध्ये १० बिरामीको दुवै आँखामा रेटिनोब्लास्टोमा भएको भेटिएको थियो ।
समस्या
"यो रोग निकै छिटो फैलन्छ त्यसैले सुरुमै उपचार थाल्न नपाए यसले जटिल समस्या उत्पन्न गर्छ," उनी भन्छिन् ।
''तर आँखा जस्तो संवेदनशील अङ्ग र बालबालिकासँग जोडिएको यस रोगबारे धेरैलाई राम्रो जानकारी छैन त्यसैले जनचेतना फैलाउन जरुरी छ ।''
सबै अभिभावक, दूर-दराजमा बसेका प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा प्रदयाकहरूदेखि बालबालिकासँग धेरै सम्पर्कमा रहकने शिक्षक, समाज र परिवारका अन्य सदस्यले यस रोगका लक्षण बारे थाहा पाउन जरुरी रहेको उनी बताउँछिन् ।
पछिल्लो अवस्था
सुरुवाती अवस्थमै उपचार गर्न नसके आँखाको गेडी आफ्नो घरभन्दा बाहिर निस्केर आउनु र आँखामा पासु पलाउँछ । जसलाई पछिल्लो अवस्थाका लक्षणको रुपमा लिइन्छ ।
प्राय: ५ वर्षमुनिका बालबालिकामा हुने भनिए पनि नेपालमा भने नौ वर्षसम्मका बालबालिकामा रेटिनोब्लास्टोमा भएको देखिएको चिकित्सकहरू बताउँछन् ।
कारण
नेपालमा खासगरी १ देखि २ वर्षका बालबालिका उपचारका लागि आउने गरेको तिलगङ्गा आँखा अस्पतालले जनाएको छ । यो रोग के कारणले लाग्छ भन्ने प्रश्नको जवाफमा चिकित्सक राजकर्णिकार भन्छिन्, "यो वंशाणुगत र आणुवंशिक परिवर्तनका कारण देखिने गर्छ ।" यसको उपचार गर्न महिनौं लाग्ने र करिब २-३ लाख रुपैयाँ खर्च हुन सक्ने उनले बताइन् ।
बीबीसीबाट