अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । रोगकै कारण दर्जन बढी बिरामी परेका छन् ।
एक सातासम्म फैलिएको अज्ञात रोगले शुक्रबारसम्म मृत्यु हुनेको संख्या ८ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए ।
बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट गाउँपालिका मैला, मदानलगायत गाउँका मानिस बिरामी परेका छन् । सुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ ।
ग्रामीण भेकमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वाथ्यकर्मी नबस्नुकै कारण उपचारमा समस्या हुँदै आएको स्थानीयको भनाइ छ । साताअघि पानी परेसँगै रोग फैलिएपछि मृत्यु हुनेमा सो गाउँपालिका १ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का छन् । वडा २ का ५५ वर्षीय रङ्गे कोली र ५ वर्षीया सुनकेसा सुनार, वडा ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महिनाका सञ्जीव थापा रहेको अहेब जैशीले बताए ।
स्वास्थ्यचौकीमा पर्याप्त औषधि नभएको र स्वाथ्यकर्मी नबसेकाले बिरामी बढेको गाउँपालिका अध्यक्ष बागचल छत्याल मल्लले बताए । मृत्यु हुनेको श्वासप्रश्वास र दमसम्बन्धी समस्या रहेको उनको भनाइ छ । घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोश टाढा भएकाले कुन रोगले ज्यान गएको भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।
औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन र उक्त रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा जाने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । अहिले रोग संक्रमित गाउँमा शिविर सञ्चालन भइरहेको र कुनै पनि स्वास्थ्य संस्थाका कर्मचारीलाई कार्यक्षेत्र नछाड्न पनि निर्देशन दिएको अध्यक्ष मल्लले बताए ।