के तपाईं कहिले धेरै बेरसम्म केही पनि नखाई बस्नुभएको छ ? बस्नु भएको छ भने अवश्य पनि तपाईंको पेट त्यतिबेला कराएको पनि होला । किनभने हामी धेरै बेर केही पनि नखाई बस्ने हो भने हाम्रो पेट आफैं कराउन थाल्छ ।
हामीलाई थाहै छ, हाम्रो पेटले निरन्तर खाना पचाउने काम गरिरहेको हुन्छ । हामीले खाएको खाना यसले औसतमा ३ देखि ४ घण्टामा पचाउने गर्छ । यो कुरा हामीले खाएको खानाको मात्रामा पनि निर्भर गर्छ । धेरै समयसम्म केही पनि नखाई बस्दा हाम्रो पेटमा खाना बाँकी रहँदैन । खानालाई पचाउन हाम्रो पेट खुम्चिने गर्छ । तर खाली भएको हुनाले पेटमा केवल ग्यास मात्र रहेको हुन्छ । खाली पेटमा ग्यास र पेटबाट निक्लेका पाचन रसहरुबीच घर्षण भएर विभिन्न खाले आवाज आउन थाल्छन् ।
भोक लाग्नु भनेको हाम्रो शरीरलाई चाहिने विभिन्नखाले पोषक तत्वको कमी हुनु हो । हाम्रो शरीरको रगतमा पौष्टिक तत्व कमी हुनेबित्तिकै त्यहाँबाट पेट र आन्द्रामा विशेष प्रकारको संकेत पुग्छ र हामीलाई भोक लाग्न थाल्छ ।
पेट कराएको बेला हाम्रो पेट र आन्द्रा निकै सक्रिय हुने गर्छन् । यस्तो बेला तिनीहरुले जे खाए पनि हतारहतार पचाउने कोसिस गर्छन् ।