तराईमा लामखुट्टेबाट औलो संक्रमण हुनु सामान्य हो । अब औलो तराईमा सीमित छैन । उच्च पहाडी क्षेत्रसम्म फैलिन थालेको छ ।
एनोफिलिज प्रजातिको लामखुट्टे पहाडतर्फ चढेपछि औलो पनि सँगसँगै देखा परेको अन्नपूर्ण पोस्टले खबर छापेको छ । उक्त प्रजातिको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो लाग्छ ।
वायुमण्डलमा तातोपन बढ्दा एनोफिलिज लामखुट्टेका लागि उच्च पहाडी क्षेत्रको वातावरण अनुकूल बनेको विशेषज्ञ बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले भने, ‘औलो पहाडतिर देखा परेको छ । यो चिन्ताको विषय हो । ’
विज्ञका अनुसार बाजुरा, बैतडी, मुगु र हुम्लामा एनोफिलिज पोथी लामखुट्टे देखापरेको छ । मुगुको खत्याड र बाजुराको हिमाली गाउँपालिकामा झुल वितरण गरी विषादी छर्किएको स्वास्थ्य सेवा विभागले जनाएको छ । सरुवा रोगविज्ञ डा. सुमन थापाका अनुसार दुई वर्षअघि मुगुका चारजनामा औलो देखापरेको थियो । ‘पानीघट्ट, कुलो र खेतमा फुल पारेर लामखुट्टेको संख्या बढेको छ । तर चेतना स्थानीयमा छैन । ज्वरो आएपछि पनि सामान्य भन्दै हेलचेक्र्याइँ गर्ने प्रवृत्ति छ,’ डा. थापाले भने ।
आर्थिक वर्ष ०७४/७५ मा औलोका बिरामी बढी देखिएका १० जिल्लाभित्र मुगु, बाजुरा, बैतडी पनि छन् । मुगुमा एक सय ४३, बाजुरामा ६०, बैतडीमा ३३ र अछाममा ३२ औलोका बिरामी फेला परेको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।