विश्व औलो (मलेरिया) दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।
औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ मा विश्वभर विविध कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । ‘एनोफिलिज नामक लामखुट्टेको टोकाइका कारण औलो (मलेरिया) रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहर तथा दूषित पानीमा बस्छ ।
विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुने गर्छ । औलोबाट मृत्यु हुनेमा ५ वर्षमुनिका बालबालिका धेरै छन् । २०१६ मा मात्र विश्वका करिब ९१ वटा देशका २ सय १६ मिलियन व्यक्ति औलोबाट प्रभावित भएका थिए । करिब ४ लाख ४५ हजार मानिसको मृत्यु औलोसम्बन्धी रोगका कारण भएको थियो ।
नेपालमा पनि औलो रोगका कारण गत वर्ष ५ सय ४१ जना प्रभावित बनेका थिए । संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ ।