सरकारले गरेको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै देशभरका सरकारी चिकित्सकको आन्दोलन अझैं टुंगोमा पुग्न सकेको छैन ।
काठमाडौंका वीर, ट्रमा सेन्टर, प्रसूति, कान्ति, शुक्रराजलगायत अस्पतालमा शल्यक्रियाका लागि पालो कुरेर बसेका बिरामीले भने सेवा पाउन सकेका छैनन् ।
एक सातादेखिको आन्दोलनले सरकारी अस्पताल अस्तव्यस्त बनेका छन् । गत शुक्रबारदेखि अनिश्चितकालका लागि भन्दै आन्दोलन सुरु भएसँगै बिरामी उपचारबाट वञ्चित भएका छन् ।
यद्यपि वीर अस्पतालमा लगाएको ताला प्रहरी लगाएर खोलिएपछि चिकित्सकहरुले अस्पताल बाहिर (प्रांगण) बाटै सेवा दिएका छन् । आन्दोलनरत चिकित्सकहरुका अनुसार अब देशभरका सरकारी अस्पतालमा पनि प्रांगणबाटै भए पनि सेवा प्रवाह गर्ने जनाएका छन् ।