आममाफी सकिएको दोस्रो महिना हुँदै गर्दा कुवेत प्रहरीले पुनः सुरक्षा चेकजाँच शुरु गरेको छ । कुवेतको जिलिब सुवेख क्षेत्रमा गरिएको चेक–जाँचका क्रममा ४ सय ९७ जना अवैधानिक आप्रवासी कामदारलाई पक्राउ गरिएको छ। उनीहरुलाई कुवेतबाट देश निकाला (डिपोर्टेशन) प्रकृयाका लागि पठाइएको छ।
कुवेतको अनलाइन पोर्टल ‘आइमनमात’ मा जनाइएअनुसार जुलाई सोमबार बिहानै जिलिब सुवेखमा गरिएको सुरक्षा जाँचका क्रममा आप्रवासी नियम उल्लंघन गर्ने अवैधानिक आप्रवासी कामदारलाई पक्राउ गरिएको हो। जसमध्ये १ सय ७२ जनासँग आफ्नो परिचय खुल्ने कागजात नभएको, ५९ जना अवैधानिक रुपमा काम गरिरहेको, ६० जना स्पोन्सरबाट भागेको मुद्दा दर्ता भएका, १ जना कुवेतको कानुनले खोजी गरिरहेका व्यक्ति छन् । त्यसैगरी चेकजाँचका क्रममा ३ जनालाई मदिरा तथा लागुऔषध मुद्दा, ८ जनालाई नागरिक नियम उल्लङ्घनलगायतका मुद्दामा पक्राउ गरिएको छ भने ४ सय ९७ जनालाई देश निकालाका लागि पठाइएको छ।
यसैगरी २ सय ७९ जनाले सवारी नियम उल्लंघन गरेको भेटिएको थियो भने ७ सवारीसाधनलाई कुवेत प्रहरीले नियन्त्रणमा लिएको छ । चेकजाचँका क्रममा ९ सय २७ जनालाई भने उनीहरुको कागजात र परिचय पत्रका आधारमा छाडिएको छ।
बिशेषगरी अवैधानिक नेपाली कामदारहरुको पनि बस्ती रहेको उक्त क्षेत्रबाट के–कति नेपाली कामदार तथा अन्य कुन देशका आप्रवासी पक्राउ परे भन्नेबारे भने जानकारी गराईएको छैन।