अमेरिकाको मेरिल्याण्ड राज्यमा एक नेपाली चेलीको हत्या भएको छ। अर्का एक नेपाली घाइते भएका छन्।
एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कम्पनीमा अन्धाधुन्धा गोली प्रहार गर्दा नेपाली महिला ४१ वर्षीया वृन्दा गिरीको मृत्यु भएको हाे।
हाडफोर्ड काउन्टीका सेरिफ जेफ्री आर ग्यालरले पत्रकार सम्मेलनमा अभियुक्तले नौ मिलिमिटरको हाते बन्दुक प्रयोगमा ल्याएको जानकारी दिए। अमेरिकामा स्वास्थ्य सामग्रीको विक्रेता राइट एडको गोदाममा काम गर्ने ९ नेपालीमध्ये वृन्दाको गोली लागेर मृत्यु भएको हाे।
साेही घटनामा अर्का नेपाली ४५ वर्षीय प्रेम आचार्य घाइते भएका छन्। आफ्ना श्रीमान् काशीराम गिरी र दुई छोराछोरीसहित अमेरिकामा बस्दै आएकी वृन्दाले तीन महिना अगाडि मात्र त्यहाँ काम गर्न थालेकी हुन्।
पर्वतमा जन्मिएकी वृन्दाकी आमा तिलकुमारी, दुई दाजुभाइ सरोजकृष्ण र सुमनसमेत मेरिल्याण्डमा नै लामो समयदेखि बस्दै आएका छन्।