विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड-१९ को उत्पत्तिबारे पुनःअनुसन्धान थालेकाे छ । त्यसका लागि कार्यदल समेत गठन गरिएकाे छ। कार्यदलमा २६ जना विज्ञहरु मनोनीत गरिएको छ । पहिलो पटक चीनको वुहान सहरमा भाइरस भेटिएको भएर पनि भाइरस सुरुमा कसरी उत्पत्ति भयो भन्ने विषयमा भने अझै अस्पष्ट छ ।
नवगठित कार्यदलले वुहानको बजारबाट जनावरबाट मानिसमा भाइरस सरेको हो वा प्रयोगशाला दुर्घटनापछि फैलिएको हो भनेर विचार गर्ने छ । डब्लूएचओले नयाँ कार्यदल कोभिड-१९ को उत्पत्ति पत्ता लगाउने अन्तिम अवसर हुनसक्ने जनाएको छ।
कोभिडको उत्पत्तिको विषयमा अनुसन्धान गर्न गत फेब्रुअरीमा चीन पुगेको डब्लूएचओको एक टिमले भाइरस चमेराबाट मानिसमा सरेको सम्भावनासहितको निष्कर्ष दिएको थियो । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एडहानामले चिनियाँ पक्षको आपरदर्शीता र डेटाको अभावले अनुसन्धानमा बाधा उत्पन्न भएको बताएका थिए ।