काेराेना महामारीको सङ्कट झेलिरहेका भारतकाे पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका विवरण आएका छन्।
बिबिसीका अनुसार अत्यन्त शक्तिशाली भनिएको समुद्री तुफान पश्चिमी राज्य गुजरातको तटमा झन्डै २०० किलोमिटर प्रतिघण्टासम्मको वेगमा टकराएको छ।
कोभिड(१९ का कारण भारतीय अस्पतालहरू थेग्न नसक्ने अवस्थामा पुगेका बेला यो तुफान आएको छ। सोमवार अबेर भारतीय मौसम विभागले गुजरातमा उक्त तुफान बज्रिन लागेको बताएको थियो।
तुफानको केन्द्रबिन्दु तटसम्म आइपुग्न कैयौँ घण्टा लागेको थियो। कतैकतै हावाको वेग १८५ किलोमिटर प्रतिघण्टा पुगेको र त्यसले समुद्रमा १३ फिटसम्म छाल उचालिन सक्ने बताइएको थियो।
सो क्षेत्रमा बजारिएको यो सन् १९९८ यताकै सबभन्दा शक्तिशाली तुफान हो। गुजरात एवम् छिमेकी महाराष्ट्र राज्य उच्च सतर्कतामा रहेका छन्।
यसबीच महाराष्ट्रको राजधानी मुम्बईको तटपारि व्यापारिक जहाजमा चार सयभन्दा धेरै मानिस फसिरहेको र तीमध्ये ३८ जनाको उद्धार गरिएको नौसेनाले जनाएकाे छ ।