अमेरिका र चीनबीच बिबाद कायमै रहेका बेला ६० बर्षमा पहिलो पटक तिब्बती नेताले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको भ्रमण गरेका छन्।
तिब्बतको निर्वासित सरकारका प्रमुख डा. लोबसाङ्ग सेङ्गेले शुक्रबार ह्वाइटहाउसमा तिब्बती मामिला सम्बन्धी नवनियुक्त अमेरिकी विशेष संयोजक रोबर्ट डेस्ट्रोसँग भेटघाट तथा छलफल गरेका हुन्।
तिब्बतको निर्वासित सरकारका कुनै पनि नेताले औपचारिक रुपमा अमेरिकाको भ्रमण गरेका पछिल्लो ६० बर्षमा यो पहिलो घटना अन्तर्राष्टिय संचार माध्यमहरुले जनाएका छन्। औपचारिक भ्रमणले सिटिए र त्यसका प्रमुखलाई औपचारिक मान्यता प्राप्त भएको विश्लेषण गरिएको छ। सिटिएको मुख्यालय भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा छ।
विगतका ६० वर्ष अमेरिकाले सिटिएलाई मान्यता प्रदान गरेको थिएन र यसका नेतालाई औपचारिक रुपमा विदेश विभाग र ह्वाइट हाउसमा प्रवेश दिएको थिएन।सिटिएका प्रवक्ताले भनेका छन्, ‘दुवै लोकतान्त्रिक व्यवस्थाले एकअर्कालाई मान्यता दिएका छन् यसले हामी खुशी छौँ । सन् १९५० देखि तिब्बतमा चीनको शासन छ । शान्ति स्थापनाका लागि त्यहाँको शासन सत्ता सञ्चालन गरिरहेको चीनको भनाई छ। तर निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले भने चीनले तिब्बतमा ‘सांस्कृतिक नरसंहार’ गरेको आरोप लगाउँदै आएका छन्।