बङ्गलादेशका रक्षा सचिव अब्दुल्लाह अल मोहसीन चौधरीको कोरोनाका कारण मृत्यु भएको छ ।
उनको कोरोनाकै कारण स्थानीय समय अनुसार विहान ९.३० बजे मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार पुष्टि गरेका छन् । बङ्गलादेशको रक्षा मन्त्रालयका प्रशासनिक अधिकृत मोहम्मद भसानी मिर्जाले उनको उपचारकै क्रममा निधन भएको जानकारी दिए ।
उनलाई ढाकामा रहेको संयुक्त सैनिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । यही जुन ६ मा उहाँलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो । अवस्थामा सुधार नआएपछि उनलाई यही जुन १८ मा अति सघन कक्षमा राखेर उपचार गराइएको मिर्जाले बताए ।
बङ्गलादेशमा अहिलेसम्म एक लाख ३७ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने एक हजार ७३८ जनाको मृत्यु भएको छ ।