अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच विद्यमान तनावलाई आफूले नियालिरहेको भन्दै सहयोग गर्न इच्छुक भएको बताएका छन्।
ह्वाइट हाउसबाहिर पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘यो एकदमै कठिन परिस्थित हो। तसर्थ हामीले भारत र चीन दुबैसँग पनि कुराकानी गरिरहेका छौँ।’ त्यहाँ दुई देशबीच ठूलो समस्या रहेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पले उनीहरूलाई सहयोग गर्न अमेरिकाले प्रयास गरिरहेको बताए ।
भारत र चीनबीच विद्यमान तनावबारे अमेरिकी राष्ट्रपतिले गत महिना सामाजिक सञ्जालमा टिप्पणी गर्दै आफू मध्यस्थता गर्न तत्पर भएको बताएका थिए।
गत साता सोमवार राति गलवान उपत्यकामा भारत र चीनबीच भएको हिंसक सङ्घर्षमा भारतका वरिष्ठ सैन्य अधिकारीसहित २० सैनिकको मृत्यु भएको थियो। भारतले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गर्दै आएपनि चीनले त्यसबारे केही बताएको छैन ।