अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित एउटा विज्ञापनलाई अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले हटाइदिएको छ।
फेसबुकका अनुसार उक्त विज्ञापनमा उल्टो रातो त्रिकोण प्रयोग गरिएको छ जुन जर्मनीमा नाजीहरूले कम्युनिस्ट लगायतका आफ्ना विपक्षीहरूको वर्णन गर्न प्रयोग गर्थे।
ट्रम्पको चुनावी अभियानको व्यवस्थापन गरिरहेको समूहले भने उक्त विज्ञापन उग्रवामपन्थी समूह एन्टिफातर्फ लक्षित गरिएको बताएको छ।
उक्त समूहले त्यो चिन्ह प्रयोग गर्ने गरेको उनीहरूले दाबी गरेका छन्।।फेसबुकले भने त्यो विज्ञापनले आफ्नो नीतिको उल्लङ्घन गरेको बताएको छ।
उक्त विज्ञापन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सका नाममा खोलिएका फेसबुक पेजहरूमा प्रकाशन गरिएको थियो।करिब २४ घण्टासम्म रहेका ती विज्ञापन फेसबुकले हटाउनु पहिले लाखौँले हेरेका थिए।