प्रहरी हिरासतमा रहेका एक अश्वेत पुरुष जोर्ज फ्लोइडको हत्यालाई लिएर अमेरिकाभरि अशान्ति फैलिएको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाभरि विभिन्न सहरहरूमा दङ्गा र लुटपाट भइरहेका बेला त्यसको अन्त्यका लागि हजारौँ सेना र प्रहरीलाई परिचालन गर्ने बताएका छन्।
प्रहरी हिरासतमा रहँदा ती व्यक्तिकोे मृत्युलाई लिएर देशभर प्रदर्शनहरू भइरहेका बेला ट्रम्पले यस्तो बताएका हुन्।
उनले भने, दङ्गाबाट हाम्रो अति विपन्न समुदायका शान्तिप्रेमी नागरिकहरू सबैभन्दा पीडित भएका छन् र राष्ट्रपतिका हैसियतले म उनीहरूलाई सुरक्षित राख्नका लागि सक्दो प्रयास गर्छु।
पत्रकारसँग बोलेपछि ट्रम्प ह्वाइट हाउसबाट नजिकै रहेको एउटा गिर्जाघरसम्म सुरक्षाकर्मी लिएर पैदल गएका थिए। उक्त गिर्जाघरमा प्रदर्शनका क्रममा क्षति पुगेको थियो।
ह्वाइट हाउसबाहिर प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडप भएको छ।