कोरोना भाइरसको विश्वव्यापी महामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख मानिसको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चेतावनी दिएको छ।
अफ्रिकाको संयुक्त राज्य आर्थिक आयोगको एक प्रतिवेदन अनुसार भाइरस विरूद्ध कुनै हस्तक्षेप नभएको खण्डमा तथा सबैभन्दा खराब अवस्थामा अफ्रिकामा ३.३ मिलियनको मानिसको मृत्यु र १.२ बिलियन मानिसमा संक्रमण देखिनसक्छ।
महामारीले सो क्षेत्रका तीन करोड मानिसलाई गरिबीको रेखामुनि धकेल्ने सम्भावना रहेको पनि संयुक्त राष्ट्रसंघले उल्लेख गरेको छ। सम्भावित महामारी नियन्त्रणमा लिन एक खर्ब अमेरिकी डलर बराबरको बजेट चाहिने उल्लेख गरेको छ। अफ्रिकी मुलुकहरुमा भेन्टिलेटरको अभाव रहेको डब्लूएचओले जनाएको छ।
’कडा सामाजिक दूरी’ अपनाए पनि यहाँ १२२ मिलियन भन्दा बढीमा कोरोनाको संक्रमण देख्न सकिने प्रतिबेदनमा उल्लेख छ।
शुक्रबारसम्म अफ्रिकामा १ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने १९ हजार भन्दा बढीमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ। यो दर युरोप र अमेरिकाको तुलनामा कम हो। तर विज्ञहरूले केही हप्तामा नै अफ्रिकामा यो महामारीको वृद्धिदर युरोपभन्दा बढि देख्न सकिने बताएका छन्।