अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्का गर्ने निर्णय गरेको छ।
‘डब्लुएचओको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो’, ह्वाइट हाउसमा आयोजित नियमित प्रेस बिफ्रिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘त्यसैले मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु।’
कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको ट्रम्पको आरोप छ। डब्लुएचओको गल्तीकै कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेकोले यसको जिम्मेवारी डब्लुएचओले लिनुपर्ने उनको भनाई छ।
डब्लुएचओ संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय हो। अमेरिका यसको सबैभन्दा ठूलो दाता राष्ट्र हो। गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर उपलब्ध गराएको थियो। जुन डब्लुएचओको कूल बजेटको करिब १५ प्रतिशत हो।