बेलायतमा कोरोनाबाट फेरि अर्का पूर्व गोरखा सैनिकको मृत्यु भएकाे छ । यो हप्ता बेलायतमा प्रायः दिनको एक जना नेपालीको मृत्यु कोरोनाबाट हुने गरेकाे छ ।
सोमबार फेरि एक पूर्व गोरखा सैनिकको मृत्यु भएको छ । लण्डन शहरदेखि बाहिर रेडिङ भन्ने ठाउँमा बस्दै आएका ६५ वर्षीय पूर्व गोरखा सैनिक लक्षिणबहादुर गुरुङको सोमबार बिहान ७ बजे निधन भएको हो । उपचारका क्रममा रेडिङको अस्पतालमा मृत्यु भएको समाजसेवी कमल गुरुङले बताए। गत दुई सातादेखि अस्पतालमा राखिएका गुरुङलाई पछिल्लो समय भेन्टिलेटरमा राखिएको थियो ।
चिकित्सकले अब ठीक हुँदैछ भनेर भेन्टिलेटरबाट बाहिर राख्ने तयारी हुँदै गर्दा मृत्यु भएको कमल गुरुङको भनाइ छ । पुख्र्यौली घर कास्कीको घान्द्रुक भएका उनको पछिल्लो समय पोखराको दीपमा पनि घर थियो । घान्द्रुक समाज रेडिङमा समेत उनी केही वर्ष पहिला अध्यक्ष थिए ।
कमलका अनुसार धुमपान र मद्यपान केही नगर्ने उहाँको स्वास्थ्यसमेत निकै राम्रो थियो । अहिलेसम्म सार्वजनिक भएअनुसार कोरोनाकै कारण बेलायतमा निधन हुने नेपाली नौ पुगेका छन् । तीमध्ये छ जना पूर्वगोरखा सैनिक छन् ।