कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई राजनीतिकरण नगर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वका प्रमुख नेताहरुसँग आग्रह गरेको छ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेससले यो महामारीलाई राजनीतिकरण गरे अझै धेरै मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका हुन्।
सीएनबीसीले जनाए अनुसार उनले अमेरिका र चीनलाई यो महामारीमा कुशल नेतृत्व दिन आग्रहसमेत गरेका छन् ।
मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन केन्द्रित भएको भन्दै डब्ल्यूएचओको आलोचना गर्दै डब्ल्यूएचओलाई दिँदै आएको कोष पनि रोक्ने चेतावनी दिएका थिए।
राष्ट्रपति ट्रम्पको यस्तो चेतावनीपछि घेब्रेससले विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने बताएका हुन्। उनले एकता नदेखाउने हो भने विकसित मुलुकले भनै अझै धेरै समस्या र संकटको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
डब्ल्यूएचओले कोरोना भाइरसबारे विश्व समुदायलाई सचेत गराउँदै जनवरी ३० मा स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।