अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच तीन अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता भएको बताएका छन्। दुई देशका प्रतिनिधिबीच भएको वार्तापछि भएको संयुक्त प्रेस कन्फरेन्समा राष्ट्रपति ट्रम्पले यसको जानकारी दिएका हुन्।
ट्रम्पले दुवै देशका नेताबीच आफ्नो नागरिकलाई कट्टर इस्लामी 'आतंकवाद' बाट बचाउन प्रतिबद्ध भएको र अमेरिकाले यसका लागि थप काम गरिरहेको बताए। उनले यस विषयमा पाकिस्तानसँग पनि कुरा भइरहेको बताए। उनले भने, "पाकिस्तानमा रहेको 'आतंकवाद' लाई अन्त्य गर्न विषयमा पाकिस्तानसँग कुरा भइरहेको छ।"
ट्रम्प र मोदी दुबै नेताले द्विपक्षी व्यापारले दुई अंकको आर्थिक वृद्धि भएकोमा खुसी व्यक्त गरे। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले दुबै देशबीच अन्य कयौं सम्झौता हुने जानकारी दिएका थिए। उनले भने, "दुबै नेताबीच भएको यो पाँचौं भेटघाट हो। जुन निकै सार्थक र सकारात्मक भएको छ।"
प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-अमेरिकाबीच २१औं शताब्दिकै महत्त्वपूर्ण साझेदारी भएको बताए । उनले भने, "रक्षा, उर्जा, प्रविधि र व्यापारका क्षेत्रमा महत्वपूर्ण प्रगति भएको छ।"
अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा भने, "मैले कार्यभार सम्हालेपछि अमेरिकी निर्यात ६० प्रतिशत बढेको छ ।" उनले भारतको उर्जा आवश्यकतालाई पूरा गर्ने सम्झौता भएको जानकारी दिए । जसअन्तर्गत एक्सन मोबिलले भारतसँग मिलेर प्राकृतिक ग्यास वितरण सुधार्ने सम्झौता भएको छ ।
प्रधानमन्त्री मोदीले अमेरिका भारतका लागि तेल र ग्यासको स्रोत भएको स्वीकार गरे।
दुई दिने भ्रमणका लागि भारत पुगेका अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार भारत यात्राको अनुभव शानदार भएको बताएका थिए । हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भने, "भारत यात्रा मेरा लागि सम्मानीय रह्यो । नरेन्द्र मोदीलाई भारतीयहरु निकै माया गर्छन्।"
प्रधानमन्त्री मोदीले पनि राष्ट्रपति ट्रम्पको भारत यात्रा आफ्नालागि सम्झनायोग्य भएको बताए।