चीनमा फैलिएको कोरोनाभाइरसका कारण हुबेइ प्रान्तमा सोमबार एकदिनमा मात्रै १०३ जनाको मृत्यु भएको छ। उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक सँख्या हो। यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सँख्या एक हजार नाघेको छ।
चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही वरिष्ठ अधिकारीलाई कारबाही गरेको छ। सोमबार एकैदिन १०३ जनाको मृत्यु भएको भए पनि नयाँ सङ्क्रमणको सङ्ख्या अघिल्लो दिनको भन्दा २० प्रतिशतले घटेको छ।
हुबेइको स्वास्थ्य आयोगले सोमवार उक्त प्रान्तमा २ हजार ९७ जनामा नयाँ सङ्क्रमण भएको पुष्टि गरेको छ। अघिल्लो दिन २ हजार ६ सय १८ जनामा नयाँ सङ्क्रमण भएको थियो। अहिले चीनमा उक्त भाइरसको सङ्क्रमण भएका कम्तीमा ४२ हजार २ सय व्यक्ति छन्।
सन् २००२ र २००३ मा फैलिएको सार्स रोगपछि जनस्वास्थ्यको क्षेत्रमा चीनले खेप्नुपरेको यो ठूलो सङ्कट हो। यो सँकट नियन्त्रण गर्न सघाउन विश्व स्वास्थ्य सङ्गठनले पठाएको चिकित्साशास्त्रीरूको टोली बेइजिङ पुगेको छ।
चीनका राष्ट्रपति सी सि चिनफिङले बेइजिङमा कोरोनाभाइरस सङ्क्रमण भएपछि उपचार गराइरहेका स्वास्थ्यकर्मीहरूलाई सोमवार भेटेका छन्।
सीले उक्त भाइरस नियन्त्रण गर्न "थप निर्णायक उपाय" आवश्यक भएको टिप्पणी गरे। "यो प्रकोपलाई अन्तत: परास्त गर्न हामीसँग आत्मविश्वास हुनैपर्छ," उनले भनेका छन्।