अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात तथा जनजीवन प्रभावित भएको छ।
सो क्षेत्रमा गत चार दिनमा झन्डै ४०० मिलिमिटर पानी परेको छ। राज्यकाे माैसम विभागले अचानक बाढी आउन सक्ने र त्यसले ज्यान जोखिममा पार्न सक्ने चेतावनी दिएको छ। वर्षाका कारण झन्डै एक लाख घरमा बिजुली गएको छ।
केही महिनायता न्यू साउथ वेल्स राज्यका ठाउँठाउँमा फैलिएको डढेलोलाई याे वर्षाले निभाइदिएको जनाइएकाे छ।
विगत ७४ दिनदेखि स्वालहेवन नगरनजिकै फैलिरहेको करोवान नामक डढेलो पनि निभेको छ। उक्त डढेलोले ५०० हेक्टर क्षेत्रफल प्रभावित पार्दै ३१२ वटा घर नष्ट गरिदिएको थियो।
मौसम विभागले डढेलो प्रभावित क्षेत्रहरू नै बाढीको बढ्ता खतरामा रहेका र तीव्र गतिमा बग्ने भेलले ठूलो परिमाणमा फोहोर बगाएर ल्याउने चेतावनी दिएको छ। हाल न्यू साउथ वेल्समा ३१ वटा छुट्टाछुट्टै डढेलो लागिरहेको थियो।
भीषण वर्षाका कारण वर्षौँदेखि सुक्खा बेहोरिरहेको सो क्षेत्रमा पानीको आपूर्ति प्रणालीमा भरथेग भएको छ।
सिड्नीको अधिकांश पानीको माग पूर्ति गर्ने वारागाम्बा बाँध ७० प्रतिशत भरिन लागेको बताइएको छ। गत सातामात्र त्यहाँ जम्मा ४२ प्रतिशत पानी भरिएको थियो।
अस्ट्रेलियाको सबभन्दा धेरै जनसङ्ख्या भएको न्यू साउथ वेल्स राज्यको सम्पूर्ण तटीय क्षेत्रमा हाल मौसमसम्बन्धी कडा चेतावनी जारी गरिएको छ।
सिड्नीमा मात्र कम्तीमा २०० जना मानिसलाई आपत्कालीन सेवाका कर्मचारीहरूले उद्धार गरेका छन्। सोमवार बिहान त्यहाँको रेल तथा डुङ्गा सेवा अवरुद्ध भएको छ।
सिड्नीको एउटा मुख्य स्टेशन सेन्ट्रलका कैयौँ प्ल्याटफर्म पानीमा डुबेका छन्। दर्जनौँ स्कूल बन्द छन्। मानिसहरूलाई सकेसम्म घरमै बस्न भनिएको छ।