चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ। चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले आइतबार साँझसम्म थप ९७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यससँगै हालसम्म उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय १० पुगेको छ।
मृत्यु हुनेमा ९ सय ८ चिनियाँ नागरिक हुन् भने फिलिपिन्स र हङकङमा एक-एक जना छन्। चीनमा मृत्यु हुने र सङ्क्रमित अधिकांश वुहानका छन्।
चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले उक्त भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा मात्रै ४० हजार पुगेको जनाएको छ।
वुहानबाट सुरु भएको भाइरसको सङ्क्रमण हाल विश्वका करिब ३० देशमा फैलिसकेको छ। श्वासप्रवासको माध्यमबाट मानिसबाट मानिसमा सर्ने उक्त भाइरस नियन्त्रणका लागि चीन सरकारले प्रयास गरिरहेको भए पनि हालसम्म सफल हुन सकेको छैन। उक्त भाइरसविरुद्धको खोप तयारीका लागि चिकित्सकहरू लागिपरेका छन्।
चीनले कोरोना भाइरसबाट प्रभावितको उपचारका लागि वुहानमा छुट्टै अस्पताल बनाएर सञ्चालनमा ल्याइसकेको छ भने अर्को अस्पताल निर्माण गरिरहेको छ। उक्त भाइरस थप फैलन नदिन विश्वव्यापी सतर्कता अपनाइएको छ र नियन्त्रणकाे प्रयास भइरहेकाे छ।