अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेको महाअभियोगमाथि माथिल्लो सदन सिनेटमा सुनुवाई सुरु भएको छ।
ट्रम्पमाथि युक्रेन मामिलामा आफ्नो शक्ति दुरुपयोग गरेको र तल्लो सदन कांग्रेसमा आचरण परीक्षण गर्न नमानेको आरोप लागेको छ। ट्रम्पले भने यी आरोपहरु अस्वीकार गर्दै आएका छन्।
सिनेटका सदस्यहरुले निष्पक्षतापूर्वक न्यायाधीशले झैं महाअभियोग प्रकृयामाथि काम गर्ने सपथ लिएका छन्। सांसदहरु सातामा ६ दिन र हरेक दिन ६ घण्टा महाअभियोग प्रकृयामा भाग लिनेछन्।
अमेरिकी इतिहासमा राष्ट्रपतिमाथि नै महाअभियोग लागेको यो तेस्रो पटक हो। यसअघि डेमोक्र्याटको बहुमत रहेको तल्लो सदन कंग्रेसले भने महाअभियोग प्रस्ताव पारित गरिसकेको छ।रिपब्लिकनहरुको बहुमत रहेको सिनेटमा राष्ट्रपति ट्रम्पलाई दोषी ठहर्याउने सम्भावना निकै कम छ।