रुसले बेलारुसलाई पनि अर्को क्रिमिया बनाउन लागेको भन्दै राजधानी मिन्स्कमा व्यापक प्रदर्शन गरिएको छ। दुई देशबीच गठबन्धनका लागि नेतृत्वबीच वार्ता अगाडि बढेपछि क्रिमियाजस्तै गरी कब्जामा लिन लागेको भन्दै प्रदर्शन गरिएको हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोबीच १५ दिनमा दुईपटक भेट भइसकेको छ। भेटपछि पुटिनले दुवै नेता सहमतिका लागि अगाडि बढिरहेको बताएका थिए। यद्यपि रुसी अर्थमन्त्र म्याक्सिम ओरेस्किनले दुवै मुलुकबीच तेल र ग्यासमा सहमति नभएको बताएका छन्।
प्रदर्शनकारीहरुले सोभियत संघ विघटनपछि प्राप्त स्वतन्त्रता खोसिने आशंका व्यक्त गरेका छन्। उनीहरुले ‘पहिले क्रिमिया र अब बेलारुसमाथिको कब्जा बन्द गर’ लेखिएका प्लेकार्ड बोकेका थिए।
२०१४ मा क्रिमियालाई रुसमा गाभेपछि र पूर्वी युक्रेनका पृथकतावादीलाई समर्थन दिएका कारण बेलारुसप्रति पुटिनको आशंका बढेको छ। पुटिनको अहिले पाँचौं कार्यकाल चलिरहेको छ। उनको कार्यकाल २०२४ सम्म छ । अब पनि उनी सत्ताको केन्द्रमै रहन संविधान संशोधन गर्दैछन्। त्यसका लागि प्रधानमन्त्रीलगायत सम्पूूर्ण मन्त्रिपरिषद्लाई विघटन गरेका छन्। यसकारण पनि पुटिन अझ शक्तिशाली भएर बेलारुसमाथि कब्जाका लागि अघि बढेको बेलारुसका नागरिकको आशंका छ।
गत महिना दुवै नेताले युनियन स्टेट अफ रुस र बेलारुसको २० औं वर्षगाँठ मनाएका थिए। दवै देशबीच यो सन्धि १९९९ मा भएको थियो । युनियन स्टेट अफ रुस र बेलारुसमा बेलारुसलाई रुसमा गाभ्ने कुरा गरिएको थियो । तर यो कागजी रुपमामात्रै सीमित रहेको थियो।
पुटिनजस्तै बेलारुसका राष्ट्रपति लुकासेन्को पनि १९९४ देखि सत्तामा छन्। उनलाई युरोपका अन्तिम तानाशाहका रुपमा लिने गरिएको छ ।