फिलिपिन्सको राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा पर्ने ‘ताल’ ज्वालामुखी विष्फोट भएपछि खतरनाक ‘लाभा’ बाहिर निस्कन थालेको छ।
जोखिमयुक्त यो विष्फोट केही घन्टा वा दिनसम्म पनि जारी रहनसक्ने फिलिपिन्सका सरकारी अधिकारीले जनाएका छन्।
उनीहरूका अनुसार सोमबार एकाबिहानै ‘ताल’ ज्वालामुखीबाट कमजोर खालको ‘लाभा’ बाहिर निस्कन थालेको थियो। ज्वालामुखी विष्फोट भएपछि त्यहाँबाट ठूलो परिमाणमा निस्किएको खरानीले आसपास क्षेत्रमा बस्ने ८ हजारभन्दा बढी व्यक्तिलाई प्रभावित बनाएको छ।
‘ताल’ फिलिपिन्सको दोस्रो अत्यधिक सक्रिय ज्वालामुखी हो। एउटा टापुमा रहेको तालको बीचमा रहेकाले गर्दा यसलाई ‘ताल’ ज्वालमुखी भनिँदै आएको छ।
‘ताल’ अत्यधिक रूपमा चलमल गर्ने अवस्थाबाट गुज्रिएको छ, यसको म्याग्मेटीक विष्फोट २ दशमलव ४९ बाट ४ दशमलव २८ पुगेको छ। यस्तो अवस्थामा कमजोर लाभा निस्कनुको साथै गर्जनसहित चट्याङको जस्तो आवाज पनि आउने गरेको छ,’ द फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले एक विज्ञप्ति जारी गर्दै भनेको छ। तथापि, अहिलेसम्म अतिखतरायुक्त विष्फोट, ग्याससहित खरानी तथा चट्टान उडाउने चाहिँ नभएको फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका निर्देशक रेनातो सोलिडमले जनाएका छन्।
‘भोल्केनिक सुनामी’ आउने भन्दै फिलिपिनी अधिकारीले सर्वसाधारणलाई सावधानी अपनाउन अपिल गरेका छन्।