सयौँको संख्यामा जम्मा भएका विद्यार्थीहरुले इरानको राजधानी तेहरानमा प्रदर्शन गरेका छन्। उनीहरुले विमान दुर्घटनाका सम्बन्धमा सरकारी अधिकारीले पहिले झुट बोलेको भन्दै विरोध प्रदर्शन गरेका हुन्। शनिबार बेलुका विमान दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली प्रकट गर्न तेहरानका शरिफ र अमिर कबिर विश्वविद्यालय अगाडि विद्यार्थी भेला भएका थिए।
सो भेला पछि प्रदर्शनमा परिणत भएको जनाइएको छ। एक हजारको हाराहारीमा रहेका प्रदर्शनकारीहरुले नेतृत्वविरुद्ध नारावाजी गरेको तथा सुलेमानीको पोस्टर च्यातेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीहरुको समर्थनमा ट्वीट गरेका छन्। गएको बुधबार तेहरानबाट किभका लागि उडेको युक्रेनी विमान उडेको केहीबेरमै दुर्घटनामा परेको थियो। सो दुर्घटनामा विमानमा रहेका सबै १७६ जनाको मृत्यु भएको थियो।