अरब क्षेत्रमा सबैभन्दा लामो समय सत्तामा रहेका ओमानका सुल्तान काबूस बिन सैद अलीको निधन भएको छ। काबूसको ७९ वर्षको उमेरमा निधन भएको हाे। गत महिना सुल्तान काबूस बेल्जियममा उपचार गराएर फर्किएका थिए। क्यान्सरबाट पीडित काबूसले बेलायतको सहयोगमा सन् १९७० मा रक्तबिहीन ‘कू’ मार्फत आफ्ना पितालाई अपदस्थ गरेका थिए। त्यसपछि गद्दी सम्हालेका सुल्तान काबूसले तेलमार्फत आर्जित सम्पत्तिको प्रयोग गरेर ओमानलाई विकासको मार्गमा अघि बढाएका थिए।
उनी अविवाहित थिए। त्यसले गर्दा उनका ठाउँ लिने उत्तराधिकारी छैनन्। ओमानी राजपरिवारका झण्डै ५० पुरुष सदस्यहरुमध्येबाट राजपरिवार काउन्सिलले एकजनालाई भावी सुल्तानका रुपमा चयन गर्ने छ। यो प्रक्रिया तीन दिनभित्र पूरा हुने जनाइएको छ।
तीन दिनभित्र राजपरिवारमा सहमति जुट्न नसकेमा सुल्तान काबूसले गोप्य रुपमा गरेको चयन सम्बन्धी शिलबन्द रहेको खाम खोलिने छ। सो खाम सुरक्षा परिषदका सदस्य, सर्वोच्च अदालतका प्रमुख न्यायाधीश, परामर्श परिषद र राज्य परिषदको सदस्यको उपस्थितिमा खोलिने छ र सुल्तान काबूसले आफ्ना उत्तराधिकारीका रुपमा चयन गरेका व्यक्तिलाई गद्दी हस्तान्तरण गरिने छ।