इरानले अमेरिकी सैन्य क्याम्पमा गरिएको मिसाइल आक्रमणमा ८० अमरिकी सैनिक मारिएको दाबी गरेको छ।
इरानी मिडियाले यो दाबी गरेको हो। मंगलबार अबेर इराकस्थित अमेरिकी सैन्य अडडामा इरानले दर्जनौं मिसाइल प्रहार गरेको थियो। अमेरिकी रक्षा मन्त्रालयले भने अहिलेसम्म क्षतिको विवरण सार्वजनिक गरेको छैन। क्षतिको आँकलन भइरहेको पेन्टागनले जनाएको छ।
समाचार एजेन्सी इस्नाका अनुसार इरानी रिभोलुनसरी गार्डका लडाकूले अमेरिकी सेनालक्षित गर्दै मिसाइल प्रहार गरेका थिए। यसका साथै इराकस्थित अन्य कैयौं अमेरिकी सैन्य अड्डामा पनि मिसाइल प्रहार गरिएको जनाइएको छ। इरानी रिभोलुसनरी गार्डले अमेरिकी हवाई बेसमा गरिएको आक्रमणलाई ‘सहिद सुलेमानी अपरेशन’ नाम दिएको छ।
यो घटनापछि अमेरिकाको आक्रमण हुनसक्ने आशंकामा इरानको पारमाणविक प्लान्टमा सुरक्षा बढाइएको छ। इरानी अधिकारीहरुले अमेरिकी सैन्य अखडा रहेका अन्य देशमा पनि आक्रमण गर्ने चेतावनी दिएका छन्।