बेलायतमा सम्पन्न आम निर्वाचनमा सत्तारुढ कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हात पारेको छ। ६ सय ५० सिट रहेको संसद्मा कन्जर्भेटिभ पार्टीले ३ सय ६४ सिट जितेको हो। उक्त पार्टीले गत निर्वाचनमा भन्दा यसपटक ४७ सिट बढी जितेको छ।
उक्त पार्टीले सन् १९८७ पछि पहिलो पटक यति धेरै सिट प्राप्त गरेको हो। निर्वाचनमा विपक्षी लेबर पार्टी २ सय ३ सिटमा सीमित भएको छ। विपक्षी दलले ५९ सिट गुमाएको छ। बेलायतमा लामो समयसम्म लेबर पार्टीले सत्तामा आफ्नो वर्चस्व कायम राख्दै आएको थियो।
निर्वाचना नजिता सार्वजनिक भएसँगै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आफूले नयाँ जनादेश प्राप्त गरेको बताएका छन्। उनले अब बेलायतलाई एकजुट गर्न सकिने र युरोपेली संघबाट बाहिर निस्कने सहमति लागू गर्न सहज हुने प्रतिक्रिया दिएका छन्।
उनले भनेका छन्, ‘अब हामी ब्रेग्जिटलाई ३१ जनवरीसम्म टुंगोमा पु-याउँछौं। अब यदि, तर वा सायद भन्ने हुँदैन।’ जोनसन गत जुलाईमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। पछिल्लो समय उनी ब्रेग्जिटलाई कसरी सफल बनाउने भन्नेबारेमा ध्यान केन्द्रित गरिरहेका थिए। पार्टीले अप्रत्यासित हार बेहोरेपछि लेबर पार्टीका नेता जिरेमी कार्बिनले दुःख व्यक्त गरेका छन्।