बेलायतको आमचुनावमा कन्जरभेटिभ पार्टी पुनः सत्तामा आउने भएको छ। शुक्रबार बिहानसम्ममा ६५० कूल सिटमध्ये ५५९ स्थानको परिणाम सार्वजनिक भएकोमा कन्जरभेटिभ २९७ स्थानमा विजयी भएको छ। अघिल्लो चुनावमा भन्दा उक्त दल थप ४१ स्थानमा विजयी भएको छ। कन्जरभेटिभ स्पष्ट बहुमततर्फ अग्रसर भएको छ। यस्तै, लेबर पार्टीले भने अघिल्लो चुनावमा भन्दा ५३ स्थान गुमाएको छ। लेबर हालसम्म १९१ स्थानमा विजयी भएको छ।
लेबर पाटीका नेता जेरेमी कोर्बिनले शुक्रबार ‘निकै दुःखद रात’ भन्दै आगामी चुनावमा लेबरको नेतृत्व नगर्ने घोषणा गरेका छन्। कन्जरभेटिभ नेता बोरिस जोन्सनले भने ब्रेक्जिटलाई पूर्णता दिन शक्तिशाली म्यान्डेट दिइएको बताएका छन्।
लेबर पार्टीले उत्तरी, मध्यवर्ती तथा वेल्सका सिट गुमाएको छ। तिनै क्षेत्रले २०१६ मा भएको जनमत संग्रहमा ब्रेक्जिटका पक्षमा मतदान गरेका थिए। लेबरले सन् २०१७ को भन्दा ६३ सिट गुमाउने आँकलन गरिएको छ।
अक्सब्रिज क्षेत्रबाट निर्वाचित भएपछि बोल्दै बोरिस जोन्सनले कन्जरभेटिभ सरकारलाई ब्रेक्जिटलाई पूर्णता दिन शक्तिशाली म्यान्डेट दिइएको प्रतिक्रिया दिएका छन्।